५ वर्षभित्रमा बागमतीको स्वरुप बदलिन्छ (अन्तरवार्ता)

मौसम खनाल
महोत्सव संयोजक

हरित काठमाडौं :: स्वच्छ बागमतीभन्ने नाराका साथ आज शुक्रबारदेखि बागमती नदी महोत्सव शुरु हुँदै छ । नेपाल नदी संरक्षण संस्थाको आयोजनामा विगत १२ वर्षदेखि हुँदै आएको यस पटकको महोत्सव विविध कार्यक्रमका साथ करिब ७० दिनसम्म सञ्चालन हुने बताइएको छ । बागमती तथा यसका सहायक नदीहरुको बिगँ्रदो अवस्थामा यसलाई सुधार गर्नका लागि महोत्सव महत्त्वपूर्ण रहँदै आएको नदी संरक्षण संस्थाका महासचिव मौसम खनाल बताउँछन् । सम्पूर्ण सरोकारवालाको साझा मञ्च विकास गर्न महोत्सव आवश्यक रहेको उनको भनाइ छ । यसै सन्दर्भमा महोत्सवका संयोजकसमेत रहेका खनालसँग नेपाल समाचारपत्रका लागि टीका बन्धनले गरेको कुराकानीको सारसंक्षेपः


बागमती सफाइका लागि महोत्सव नै किन ?

बागमतीको अवस्था बिगँ्रदै गएको सबैलाई थाहा भएको विषय हो । यस्तो अवस्थामा नदी संरक्षणमा चासो देखाउनेहरु कम भए । सीमित उद्देश्य लिएर एक दुई दिन बागमती सफाइ गर्नेहरु पनि देखिए । तर उपलब्धिमूलक काम हुन सकेन । ढल निकास व्यवस्थापन गर्ने, फोहोर मैला व्यवस्थापन, भएका कानुन कार्यान्वयन गर्ने कार्य सरकारले गर्न सकेन ।

यो समस्या निराकरण गर्न नेपाल नदी संरक्षण संस्थाले जनतालाई सचेत गराउन तथा स्थानीय जनताको सोच र व्यवहार परिवर्तन गराउने उद्देश्यका साथ महोत्सव गर्दै आएको छ । महोत्सव आयोजनासँगै विविध कार्यक्रम गरेर सरकारलाई उपयुक्त सुझावसहित दबाव दिनु अर्को उद्देश्य हो ।

महोत्सवअन्र्तगत के कस्ता कार्य हुनेछन् ?

पहिलो र महत्त्वपूर्ण काम भनेको जनचेतामूलक कार्य नै हुनेछन् । विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक ⁄शिक्षिका, स्थानीय बासिन्दा, नदी संरक्षणसँग सम्बन्धित संघ संस्था तथा अन्य सर्वसाधारणलाई समेटेर नदी संरक्षणका बारेमा चेतनामूलक कार्यक्रम गर्ने लक्ष्य लिएका छौं । बागमती यात्रा (घाटदेखि घरसम्म) अभियानअन्तर्गत विशेष र्याली आयोजना हुनेछ । अर्को कार्यक्रम पर्यटनसँग सम्बन्धित हुनेछ । बागमती नदी पर्यटनसँग जोडिएकाले ढलको स्वरुपमा बगिरहेको पानीमा ढुंगा चलाउनेछौं । खेल पर्यटनसँग जोडेर बागमती इको च्यालेन्ज कार्यक्रम गर्दै छौं । महोत्सवमा सम्पदा यात्रासमेत हुनेछ । बागमतीको किनारमा भएका घाट, मन्दिर र अन्य सम्पदा संरक्षणका लागि विशेष कार्यक्रम हुनेछन् । तेस्रो कार्यक्रम वातावरण संरक्षणसम्बन्धी कार्य तय गरेका छौं । यसमा नदी आसपासको फोहोर संकलन, व्यवस्थापन तथा वृक्षारोपणजस्ता कार्य हुनेछन् । पानीको मुहान संरक्षणका लागि वृक्षारोपण अनिवार्य मानिएकाले वृक्षारोपणलाई विशेष प्राथमिकता दिएका छौं । नदी किनार आसपासमा पाइने चरा अवलोकन, विज्ञ तथा विशेषज्ञसँग बसेर नदीको वर्तमान अवस्था र संरक्षणका विविध सम्भावनाबारे अन्तत्र्रिmया र कार्यशाला पनि तय गरेका छौं ।

कार्यक्रमको सूची धेरै लामो बताउनुभयो । कुनकुन स्थानमा यस्ता कार्यक्रम हुनेछन् ?

करिब २ महिनाभन्दा लामो महोत्सव भएकाले कार्य सूची लामो नै हुने भयो । विभिन्न मितिका लागि यो सूची तयार भएको हो । महोत्सवको शुरुवात पशुपति क्षेत्रबाट आज शुक्रबार बिहान हुँदै छ । वृक्षारोपण सुन्दरीजल क्षेत्रमा हुनेछ भने चरा अवलोकन पनि त्यहीं आसपासमा हुनेछ । नदी सफाइका विशेष कार्यक्रम गोकणेश्वर घाट, कालमोचन घाट, शंखमूल, टेकु दोभान तथा चोभारको जलविनायकमा हुनेछन् । बागमती सफा गरेर मात्र हुन्न, त्यसैले विष्णुमतीको शोभा भगवती, हनुमन्ते तथा मनोहरा घाटमा पनि विशेष सरसफाइका विविध कार्यक्रम हुनेछन् ।

विगत १२ वर्षदेखि यस्तो कार्य गर्दै आउँदा नदीको अवस्था झन् झन् बिगँ्रदो देखिन्छ । सुधार चाहिँ के भएको छ ?

१२ वर्षको उपलब्धिलाई मूल्यांकन गर्नुपर्दा विविध पक्षलाई नियाल्नुपर्ने हुन्छ । जस्तैः जनसंख्या वृद्धि र बसाइँसराई, फोहोर उत्पादन तथा व्यवस्थापनमा विगतमा कस्तो थियो र अहिले के भइरहेको छ भनेर मूल्यांकन गर्नुपर्ने हुन्छ । सोझो रुपमा हेर्दा बागमती फोहोर नै देखिन्छ । तर हाम्रो अनुभवले के देखाउँछ भने बागमतीमा धेरै उपलब्धि भएका छन् । पहिलो उपलब्धिका रुपमा बागमती कार्ययोजना बनाएर सरकारले २०६८ देखि लागू गरिसकेको छ । नेपाल नदी संरक्षण संस्थाजस्ता अन्य संघ संस्थाको सुझावले त्यो सम्भव भएको हो भन्ने लाग्छ । अहिलेसम्ममा पशुपति क्षेत्रभन्दा माथिको भागमा ढल निषेध गरिएको छ, त्यो पनि महत्त्वपूर्ण उपलब्धि हो । त्यसै गरी मान्छेहरु सरसफाइका सवालमा पहिलाभन्दा धेरै सचेत भएका छन्, चासो दिँदै आएका छन् । पहिला–पहिला घाट र नदी किनार क्षेत्र सफा गर्दा ५ ⁄६ ट्रक फोहोर निस्कन्थ्यो भने अहिले न्यून मात्रामा फोहोर संकलन गर्न सकिन्छ । व्यक्तिमा चेतनास्तर वृद्धि भएकै कारणले हुनुपर्छ केही वर्षयता बागमती नदी किनार आसपासमा ‘ग्रीन पार्क’ बनाउने लहर चलेको छ । यस्ता क्रियाकलापले सकारात्मक शुरुवात भएको मान्न सकिन्छ, तर पूर्ण उपलब्धि चाहिँ होइन ।

महोत्सव कहिले सम्म ?

यसपटक मात्र होइन, बागमती महोत्सवलाई हरेक वर्ष आन्दोलनका रुपमा लिएका छौं । उपलब्धि हासिल भएपछि मात्र आन्दोलन समाप्त हुनेछ । अहिलेसम्म नदी सफाइमा केन्द्रित रहेर महोत्सव गर्दै आएका छौ । केही वर्षसम्म सफाइमै केन्द्रित रहेर महोत्सव हुनेछ । हामी विश्वस्त छौं बागमतीको अवस्था सधैं यस्तो रहन्न । केही वर्षभित्रमा महोत्सवको स्वरुप बदलिनेछ । अहिले सरसफाइमा केन्द्रित रहेको महोत्सव केही वर्षभित्रमा सफा बागमतीमा फोहोर नगर्न र नदीको स्वच्छता कायम राख्नका लागि केन्द्रित हुनेछ ।

बागमतीमा कहिलेसम्ममा सफा पानी बग्ला ?

बागमती कार्ययोजनालाई आधार मान्ने हो भने त्यसका सम्पूर्ण पक्षलाई एकै पटक लागू गरियो भने छिटै सम्भव छ । आर्थिक, प्रशासनिक, प्राविधिक, सांस्कृतिक, भौतिक, वातावरणीयजस्ता पक्षलाई ध्यान दिएर लागू गरियो भने आगामी ५ वर्षभित्रमा बागमतीको स्वरुप बदलिनेछ । स्वच्छ पानी बगेको तपार्इं हामीले देख्नेछौं । तर यसका लागि सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, आमनागरिक, सञ्चार क्षेत्र सबैको पूर्ण सहकार्य जरुरी छ । खास गरी ‘नदी बचाऊ’ अभियानमा लागेका संघ संस्था एकै साथ हातेमालो गरेर अगाडि बढ्नै पर्छ ।

नदीको अवस्था सुधार्न तत्काल के कस्ता समस्या देखिएका छन् ?

ढल निकास, फोहोर मैला व्यवस्थापन र नदी संरक्षणका लागि बनेको कानुन प्रभावकारी बनाउनु पर्यो । यतिबेला वर्षाद्को मौसममा बागमतीमा पानीको बहाव बढेको देखिए पनि सुख्खा मौसममा ढलको स्वरुपमा बग्दै आएको हामी सबैले देख्दै आएका छौं । हामीले प्रयोग गर्ने गरेको ७० प्रतिशतका हाराहारीको पानी प्रदूषित बनेर ढलको स्वरुपमा बग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । त्यसैले जसरी भए पनि सुख्खा मौसममा बागमतीमा पानीको सतह बढाउनै पर्छ । पानीको सतह वृद्धि गर्ने विभिन्न विकल्प देखिएका छन् । जस्तैः मेलम्चीको पानीलाई बहुउद्देश्यीय बनाएर बागमतीमा पानी छोड्न सकिन्छ । त्यसै गरी बागमतीको उद्गमस्थलको धाप क्षेत्रमा वर्षाद्को पानी संकलन गर्न रिर्जभवायर बनाएर हिउँदका बेला नदीमा छोड्ने हो भने पनि नदी स्वच्छ बन्न सक्ने अध्ययनहरु भइरहेका छन् । अर्को महत्त्वपूर्ण कुरा हाल अनियन्त्रितरुपमा उपत्यकामा प्रयोग हुँदै आएको भूमिगत पानीको खपत नियन्त्रण जरुरी भइसकेको छ । अनियन्त्रित रुपमा प्रयोग हुने भूमिगत पानी आवश्यक मात्रामा मात्र चलाउने हो भने पनि प्राकृतिक रुपमै बागमतीमा पानीको बहाव बढ्नेछ ।

Published on Nepal Samacharpatra Daily, 14th June 2013, Friday

Original Link: http://www.newsofnepal.com/newsdetail.php?id=73367